दफा
घर जग्गाको कर निर्धारण

(१) कर अधिकृतले घर जग्गाको विवरण दाखिल भएपछि यथाशक्य तीन महिनाभित्र सो सालको लागि यो ऐन बमोजिम असुल उपर गर्नु पर्ने घर जग्गा करको रकम निर्धारण गर्नु पर्छ ।

तर कुनै व्यक्तिको जतिसुकै घर जग्गा भए पनि सबैको विवरण लिई बेग्ला बेग्लै मूल्यांकन गरी सबै घर जग्गालाई यो ऐनको प्रयोजनको लागि एउटै इकाई (यूनिट) मानी घर जग्गा कर निर्धारण गर्नु पर्छ ।

(२) प्रत्येक सालको श्रावण १ गतेका दिन जसको स्वामित्वमा घर जग्गा रहेको छ सो आर्थिक वर्षको निमित्त सोही व्यक्तिको नाउँमा घर जग्गा कायम मानी कर निर्धारण गरिनेछ र त्यस्तो घर जग्गा एक भन्दा बढी व्यक्तिहरूको संयुक्त स्वामित्वमा रहेको भए संयुक्त स्वामित्व भएका व्यक्तिहरूको नाउँमा घर जग्गा कायम मानी कर निर्धारण गरिनेछ ।

(२क) कुनै घरको विभिन्न तल्लाहरूमा वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएमा त्यस्तो पृथक पृथक स्वामित्व भएका तल्लाहरू सम्बन्धित व्यक्तिहरूको नाममा छुट्टाछुट्टै घर जग्गा कायम मानी कर निर्धारण गरिनेछ ।

(३) अवस्थानुसार कर अधिकृतले त्यस्तो कर निर्धारण गर्दा करदाताद्वारा दाखिल भएका विवरण माथि उचित विचार गर्ने र त्यसको जाँचबुझको प्रयोजनको लागि सम्बन्धित व्यक्तिका नाममा समाह्वान जारी गर्ने, बयान बकपत्र गराउने र लिखतहरू दाखिल गराउने सम्बन्धमा प्रचलित नेपाल कानून बमोजिम अदालतलाई भए सरहको सबै अधिकार निजलाई हुनेछ ।